त्यो म होइन!
रातको साढे एक बजे एक्कासी मेरो मोबाइल बज्यो। हिजो राति समय मै नसुतेका मेरा आँखा, भर्खरै लागेका थिए। रातको त्यो प्रहरमा त्यसरी मेरो मोबाइलमा घन्टी बज्नु, आफैमा सामान्य थिएन। आखिर मलाई यसरि रात बिथोल्ने गरि सम्झिने कोइ भएझैं मलाई लाग्न नथालेको पनि बर्षौं भैसकेको थियो। बिहानै अफिस जानु पर्ने झोंक अनि कसैले बिगारिदिएको मेरो निन्द्रा पक्कै स्वागतयोग्य थिएन। चिसो रातमा बल्ल बल्ल हावा छिर्न नदिई तताएको ओछ्छ्यानबाट काँप्दै उत्रिएँ। हिटर बिग्रिएर चिसोमा कठ्यांग्रीदै बस्न म बाध्य थिएँ। महिना महिनामा आउने तलबले मेरो बैंक खाताको मुहार देख्न, मैले अझ केहि दिन कुर्न पर्ने थियो। चार्ज गर्नलाइ मोबाइल, सुत्नु अगाडी, प्लग छेउको टेबलमा राखेको थिएँ। त्यो केहि पर नै थियो। अँध्यारो कोठाको छेउमा बलेको त्यो मोबाइल, टाढाबाट कसैले देख्थ्यो त, कालो आकाशको एउटा कुनामा धपक्क बलेको चन्द्रमा झैं देख्थ्यो होला। मोबाइलसम्म पुग्नै के लागेको थिएँ, टेबलको छेउमा मेरो खुट्टाको बुढी औँला ठोक्कियो। नराम्ररी रन्थनिएँ। अचम्मको प्रेमसम्बन्ध छ खुट्टाका यी औंला अनि घरका फर्निचर बीच, मौका पाउना साथ, चप्किहाल्छन। बल्लतल्ल होशमा आएँ। मोबाइल अझै पनि बजिरहेको थियो। ठोकिएको औंलाको चोट, रातको चिसोले गराएको कम्पन, भर्खरै आएको होश, सबै फेरी गायब भयो, जब मोबाइलमा उसको नाम देखें – “द्रिष्टि कलिंग”
म उसलाई धेरै माया गर्थें। हो गर्थें, तर आज गर्छु कि गर्दिन, खै मलाई थाहा छैन। ऊ साँसले बोलिरहेकी छे तर म हरेक अक्षर ध्यान दिएर सुनिरहेको छु। म उसलाई सँधै यसरि नै सुन्थेँ, ध्यान दिएर। “आशिष, के तिमी मलाई भेट्न आउन सक्छौ?” लड़बडाउँदो आवाजमा उसले मलाई सोधी। उसको आवाज सुनेर ऊ रक्सीको नशाले चुर भएको भेउ पाउन मलाई गारो भएन। भारि मन बनाउँदै मैले भनेको “हस्” मेरो झैँ लागिरहेको थिएन।
म घरबाट निस्किएँ, गाडी निकालेँ। अब मलाई अघि भइरहेको जाडो पनि भएन, न त मलाई सुत्न नै पर्यो। म उसले बोलाएको ठाउँमा उसलाई लिन जाने भएँ। आखिर नजाउँ पनि किन, आखिर ऊ त ऊ नै थिई। मेरा लागि ऊ कहिले परिवर्तन भइन, ऊ सधैँ ऊ नै रही। अनि यहि बहाना काफी थियो, अनिन्द्रा चिर्दै, रातको त्यो प्रहरमा, उसको पुकारलाइ नकार्न नसक्नुको। जतिजति म उसको घरको नजिक पुग्दै थिएँ, उतिउति नै सडकछेउका बत्तीहरु धमिला हुँदै गईरहेका थिए। शायद यी आखाँमा रसाएका आँसु, आशाका प्रतित थिए। पहिला जति प्रयास गर्दा पनि, कुनै पनि नक्साले उसको बाटो देखाउन मानेका थिएनन्। अनि आज, आज हरेक बाटो उसैमा गएर टुंगिन लाग्दै थियो।
त्यो गल्लिको अन्तिम घर उसको थियो या भनौँ त्यो बाटो उसैको घरमा गएर टुंगिन्थ्यो। त्यहि टुंगिने बाटो, जहाँ यो सब शुरु भएको थियो, या सकिएको थियो, खै यकिनका साथ भन्न सक्दिन। थुप्रै खालि शिशाका बोतलहरु, उसका बगैँचामा ढलिरहेका थिए त्यहिँ उभिरहेकी थिई ऊ। उसले मलाई देखि या शायद मेरो गाडीको बत्तीलाई। ऊ मतिर ढल्मलाउँदै लम्किन थाली। मेरो गाडीको हेडलाइट उसको आँखामा परेछ क्यारे, उसले आफ्नो हातले आँखा छेकी। मैले हत्तपत्त गाडीको लाइट सानो बनाएँ। निभाइन, किनकि शायद उसले अँध्यारोमा बाटो नदेखेर लड्न सक्थी, लडेर उसलाई चोट लाग्न सक्थ्यो। त्यसैले मैले बत्ति निभाइन। म आफैलाई देखेर छक्क परेँ। मैले भनेको थिएँ नि, म उसलाई धेरै माया गर्थें। हो गर्थें, तर आज गर्छु कि गर्दिन, खै मलाई अझैं थाहा छैन।
ऊ गाडी भित्र चढी। म चुपचाप बसेँ। ऊ रुन थाली। म उसलाई हेरिरहें। “मैले जे गरेँ गलत गरेँ।” उसले भनि। यो रक्सि भन्ने चिज पनि अचम्मको छ, आफु भित्र जान्छ अनि सत्यलाई बाहिर लिएर आउँछ। म कहिलेकाँही गम्छु, अदालतमा बेकारमा खुवाउँछन् गिताको कसम। जज साहब, अभियुक्तलाई खुवाइदिनुस दुइ पेग, निट एंड हार्ड, सबै सच्चाइ एकैछिनमा निस्किन्छ। ऊ अझैं रोइरहेकी थिई। उसका आँखाका गाजल लत्पतियेर गाला सम्म आइपुगेका थिए। उसको कपालले क्लिप संग नाता तोडिसकेको थियो अनि स्वतन्त्र भएर सांस फेरिरहेको थियो। त्यहि पनि ऊ सधैँ झैं एकदम राम्री थिई।
म केहि बोलिन। एकमनले लागिरहेको थियो, उसलाई अंगालोमा बेर्छु अनि माफ गरिदिन्छु। तर तेसो गर्ने हिम्मत, मलाई मेरो मायाले दिएन। म चुपचाप सुनिरहें। एकछिन सुँक्क सुँक्क गरेपछि ऊ फेरी अर्धहोशमा आइ। “हे भगवान, मैले एति धेरै माया गर्दो रहेछु, मैले किन आफै नबुझेको, किन मैले आजसम्म भन्न नसकेको? ” उसले फेरी मलाई हेर्दै भनि। मेरो मन भारि भयो। मनको बाँध आँखा बाट नपोखियोस भनेर मैले घुटुक्क थुक निले। शायद आखाँ तर्फ लम्किएका आँसु लाइ त्यहि थुकले दबायो। मेरा आँखामा आँसु आएनन।
“म अहिले जान्छु। अलिक धेरै झ्याप छु। भन्न मन थियो मनको कुरा त्यसैले तिमीलाई बोलाएँ। दुख दिएको भए सरि। ” गाडीको ढोका खोल्दै उसले भनि।
“मनको कुरा मनमै नराख। सधैँ सधैँ भावनाले शब्द पाउँदैनन्। आज समय छ आजै भनिहाल।” ऊ निस्किन लागेको देखेर मैले भनेँ।
मैले बुझें ऊ एकदमै मायामा छे। मलाई उसको माया लागेर आयो।
“हस्। तिमीले भनेको ठिक हो।” उसले आँसु पुछ्दै भनि। मैले उसलाई हेरिराख्न सकिन। म अर्कोतिर फर्किएँ। आखिर आज यो दिन आयो। म सधैं यो दिनको सपना देख्ने गर्थें।
“आइ लव यु” उसको आवाजले म फेरी होसमा आएँ। मेरा आँखामा जम्मा भएका खुसीका आँसुलाई, मैले जमाएर राख्न सकिन। म उतिर फर्किएँ।
कानमा मोबाइल लगाउंदै उसले भनि,”प्रकाश, आइ लव यु!” ऊ साँसले बोलिरहेकी थिई तर म हरेक अक्षर ध्यानदिएर सुनिरहेको थिएँ। म उसलाई सँधै यसरि नै सुन्थेँ, ध्यान दिएर। गाडीको ढोका खोलेर ऊ फेरी ढलमलाउँदै निस्की।
मलाई फेरी जाडो हुन थाल्यो, निन्द्रा लाग्न थाल्यो अनि ठोकिएको बुढी औंला फेरी दुख्न थाल्यो, त्यो दुखाइ, बुढी औंला हुदैँ मुटु सम्म पुग्यो अनि मनको भेल आँखा बाट पोखियो।
मैले फेरी बुझें ऊ एकदमै मायामा छे। तर त्यो म होइन। मलाई, मेरो माया लागेर आयो।
तस्बिर : https://www.instagram.com/sweekrity_pyakuryal/
यदि तपाईंलाइ यो कथा मन पर्यो भने, हरेक हप्ता प्रकाशित हुने मेरा नयाँ नयाँ कथा पढ्न, आफ्नो Name र Email Address हालेर मलाई Subscribe गरिदिनुस् है?
Great dada👍👌👌👌
Ajai sunam sunam jasto lagyo😊
Thanks Kushal!