जे भयो, त्यो हुनेछैन!

जे भयो, त्यो हुनेछैन!

Spread the love

“तँलाई त्यो याद छ?”

“मोटाइछस् त!”

“त्यो त नेता बन्यो रे!”

“आज पनि एक हात पन्जा लडाई हान्ने कि?”

म छिर्दै गर्दा मेरा कानमा ठोक्किन पुगेका यी सब गफहरुले होटेल अन्नपुर्णको त्यो पार्टी रुमलाई माछा बजार नै बनाएको प्रतित भइरहेको थियो।  किन किन मलाई एक्कासी सम्झना मिस को याद आयो। 

“चुप्प लागेर बस्न सक्दैनौ? यो कक्षाकोठा हो कि माछा बजार?”

यो याद भन्ने चिज पनि गज्जबको हुन्छ। कहाँ, कतिबेला, कसको अनि कहिलेकाँही त किन आउँछ पनि पत्तो नपाइने। 

म त्यो भिडमा अल्झिन चाहिन। म सिधै कुनामा रहेको बार तर्फ लागेँ। 

“ब्ल्याक लेबल, लार्ज प्लिज !”

हामि दुवै जनाको बोली एकै चोटी ठोक्कियो। शायद त्यो बोली, बोली नभएर बादल भएको भए, त्यो जुधाइले ठुलो चट्यांग निम्त्याउथ्यो !

“१५ बर्ष!, आशिष!” उसले भनी !

हामी दुवै जनाले एक अर्कालाई हेर्यौँ। खासमा त्यो हेराइमा हामी आज जे भएका थियौँ, त्यसमा प्रकट गरिएको आश्चर्य थियो। अनि त्यो आश्चर्य भन्दा अधिक धेरै खुशी। 

“तिमीले मेरो फोन किन नउठाएकी?”

“एक्कासी छोडेर जान अलिकति पनि माया लागेन?”

“कहाँ बस्छौ अचेल? कति चोटी पुगेँ म तिमी पहिले बस्ने ठाउँमा, तर तिमी त्यहाँ थिएनौ। “

“भोली भेट्न आउछु भनेकी तिमि, तिम्रो भोली कहिले आएन? “

यस्तै येस्तै अनेकन प्रश्न सोध्न मन थियो। तर जिब्रोमा आउनु अघि नै ति सब प्रश्नको हत्या गरिदिएँ। 

“तिमीलाई म अझै पनि याद छु?” सानो आवाजमा बोलि फुटाएँ। 

“तिमी मलाई याद हुन्नौ त, उल्लु मान्छे! ” मैले मेरो मनलाई घूस खाइरहेको रंगेहात पक्राउ गरेँ। मनमा चोट भएपनि उसको “उल्लु मान्छे” सुनेर मुस्कुराउनु आखिर भ्रष्टाचार नै त हो। 

त्यो साँझ, हामीले त्यो कोठाको विभिन्न कुना चाहार्यऊँ। बर्षौँ पछि आयोजित रि-युनियन, भिन्न भिन्न साथीहरु, अनि भिन्न भिन्न समूह। हामी बेग्ला बेग्लै समुहमा सबैलाई भेटिरहे पनि, एक अर्का सँग हामि बोलिरहेका थियौँ, आँखै आँखा मा। आखिर यो पुरानो कथा, आज फेरी एति सजिलै बाचन गर्न, धेरै बर्ष एकान्तमा बिताउनु परेको छ, उसको नाम कहीं कतै सुन्दा मासुको गन्धले जर्याकजुरुक उठ्ने कुकुर झैँ, कान ठाडो पार्नु परेको छ। चिसो रातमा, पाएका प्रेमपत्र जलाउँदै, त्यहि तापले आफुलाई सेक्न परेको छ। यादका जलनलाइ चिर्न, बर्षौंदेखि बिहान उठे बखत बाटै, ब्ल्याक लेबलका बोतल हरुले यो घांटी जलाउनु परेको छ। कहाँ सजिलो छ, आँशुको सागरमा डुबुल्की लगाउन हालेको कुनै जमानाको कथालाइ, आज फेरी बाँझो जमिनमा उभिएर पढ्न। 

रात छिप्पिसकेको थियो। दुई पटक उसले मलाई नाइँ भनिसकेकी थिई, मैले लगाएको ज्याकेट लगाउन। हामी त्यो पार्टी बाट निस्किसकेका थियौँ। काठमाडौँको चिसो रातमा गार्डेन अफ ड्रिम्स बाहिर हिंडिरहेका थियौं। केहि बेरमा उसलाई अलिक चिसो लागेछ क्यारे, उसले मेरो हात बेस्सरी समाती। कति अचम्म, पुराना मान्छे जीवनमा रहुन या नरहून, पुराना बानी सधैँ संगै रहने। मैले उसलाई मेरो ज्याकेट लगाइदिए। 

“खासमा यो रक्सीले गर्दा हो के, नत्र म एति बेस्सरी कहिले नि बोल्दिन।” सुनसान सडकमा उसको त्यो ठुलो आवाजले छेउमा सुतिरहेको कुकुर पनि ब्युँझियो। म मुसुक्क हाँसे। हुन पनि हो, रक्सीको तालमा नै पहिलो चोटी, दरबारमार्गको क्लबमा हामि भेटिएको, रक्सीकै तालमा भोलिपल्ट सबको अगाडी तिमीले मलाई “मर्नेबाँच्ने तिमिसंगै” भनेको, रक्सीकै तालमा तिम्रै घरमा, तिम्रै कोठामा झिमिक्क नसुती झिसमिसे बिहानी बनाएको, रक्सीकै तालमा अन्तिम चोटी पनि कहिले न आउने भोलीको बाचा गरेको। हो, आखिर सबै दोष रक्सीकै हो। 

“आइ एम सरि, आशिष!” बर्षौँ देखि सुन्न खोजेका यी शब्द, आज सुन्न पाउँदा, यो सुनेर म खुशी थिएँ कि दुखि मैले महशुश गर्न सकिन। जब त्यो चिसो रातको सिरेटोले होशमा लिएर आयो, तब उसका हातले मेरा हात समातिरहेका थिए र उसको ओंठ र मेरा ओंठ, जसको बीच केहि पल अघि सम्म केहि सेन्टिमिटरको फरक थियो, त्यो गायब भैसकेको थियो। “यो सब रक्सीले गर्दा हो !” ऊ बड्बडाइ रहेकी थिई। 

केहि पल सम्म म त्यसै उभिएँ, मेरा बन्द आँखाले न उसलाई हेर्न चाहे, न नै ती आँखा खुलेर फेरी हामी बिचको सत्य बोध गर्न चाहे। म आफु, आफ्नै आँखामा लाजले चुर्लुम्म डुबिसकेको थिएँ। मैले थाहा नै नपाइ मेरा आँखाका कुना बाट आँसु झर्न थाले, अनि साइली औँलामा अड्केको मेरो औँठी हेर्दै, मनमनै भनें, “स्वीकृति, यो सब एक बर्ष अगाडी हुनुपर्ने!”

तस्बिर : https://www.instagram.com/sweekrity_pyakuryal/

यदि तपाईंलाइ यो कथा मन पर्यो भने, हरेक हप्ता प्रकाशित हुने मेरा नयाँ नयाँ कथा पढ्न, आफ्नो Name र Email Address हालेर मलाई Subscribe गरिदिनुस् है?

2 thoughts on “जे भयो, त्यो हुनेछैन!

Comments are closed.

Follow Me