पानीका पाइला
उज्यालोमा आँखाको अगाडी सबै आउने भएर शायद भावनाका कथाहरु रातमा गाढा हुन्छन। हुन पनि हो, कसैलाई सम्झिनु पर्दा आँखा चिम्म गर्छन सबैजना। अँध्यारोमा शायद याद पनि चहकिला हुँदा हुन्। यादका खोल ओढेर उ आज पनि मेरो निन्द्रा बिथोलिरहेकी थिई। घडीमा १२ बजेर ५४ मिनेट गएको थियो। साँझ सिमसिम परिरहेको पानि अहिले मज्जाले दर्किरहेको थियो। शायद आज आकाशले पनि आफ्नो मनको बह पोख्दै थियो। झ्यालबाट बाहिर कौसीमा हेरें। दिउँसो सुकाएको सर्ट लुछुप्प भिजिसकेको थियो। बाहिर निस्केर सर्ट उठाउन चाहिन। मेरो ज्यान रुझाएर मेरा भावनालाइ अझैं गरुङ्गो बनाउने मौका मैले त्यो दर्किरहेको पानिलाइ दिन चाहिन। उसलाई पनि बर्षातको समय मन पर्दैन थियो। उसलाई रातको प्रहर मन पर्थ्यो। शायद त्यसैले आजसम्म पनि रातको प्रहर नसकिन्जेल म निदाउन सक्दिन। या भनौ, निदाउन चाहन्न।
म झ्यालको छेउमा उभिएर परिरहेको पानीको ताल सुन्दै थिएँ। फोनको घन्टी बजेको बज्यै थियो। एक्कासी याद आयो, मैले घरमा कुरा नगरेको पनि धेरै समय भएछ। झ्यालको ऐनामा आफुलाई देखेर फेरी सोचें, “आखिर कहिले देखि म एती सारो मनको भएँ?” शायद त्यो दिन हुनुपर्छ जब म मनको कुवाबाट आसुँका धारा नसकिन्जेल रोएको थिएँ र आफुले आफैलाई भनेको थिएँ, “अब मैले मेरो मन बलियो बनाउन पर्छ।” वा शायद त्यो दिन थियो जब उसलाई पहिलो चोटी देखेको थिएँ। हैन, मलाई याद आयो, यो त्यो दिन हो जब उसले मलाई भनेकी थिई, “आशिष, मेरो जीवनमा अरु कोहि छ।” बाहिर दर्किरहेको पानीले त्यहि सुरमा गित गाएको महसुस गर्न थालें। आशिष …. मेरो…जीवनमा… अरु… कोहि… छ… बिहान उठ्दा र बेलुका सुत्दा अब मोबाइलमा तिम्रो मेसेज आउन्दैन भनेर आफैलाई सम्झाउन मलाई ६ महिना लागेको थियो। मैले आज दिन भरि भुल्न खोजेको तथ्यले फेरी मेरो दिमागमा डेरा जमायो। आज फेब्रुअरी ११ तारिख। उसको जन्मदिन। गोजीबाट मोबाइल झिकें। उसको नाम अझै पनि “सानु” भनेर सेभ थियो।
“ह्याप्पी बर्थडे ! आइ मिस यु !” लेखें। डिलिट गरें। “सन्चै छौ? तिम्रो जन्मदिन आज। तिमीलाई सम्झिरहेको छु।” लेखें। डिलिट गरें। “हरेक चोटी तिमीलाई सबैभन्दा शुरुमा मेसेज गर्ने म नै हुन्थ्यें। आज तिमीलाई मेसेज नगरी बस्न सकिन। म तिमीलाई एकदमै माया गर्छु। ह्याप्पी बर्थडे सानु।” लेखें। मेरो मनमा मेसेज पठाउँ कि नपठाउँको भिडन्त चल्यो। घडी हेरें। ४ बजिसकेछ। मोबाइलको स्क्रिनमा हेरेर टोलाइरहेको थिएँ। एक्कासी मेरो मोबाइलमा फोन आयो।
“के गर्दै छौ?”
मेरो मन खुशी भयो। “यत्तिकै बसिराछु।” यो प्रश्नले खै किन हो मेरो आँखामा आँसु आयो।
“रोइ त रहेको छैनौ नि?”
“छैन।” आँखा भरि आँसु लिएर हाँस्दै मैले भनें।
“उल्लु तिमी पक्कै रोइरहेको छौ। मैले चिनेको छैन र तिमीलाई? भेट्ने हो?”
“हुन्छ।” मैले आँसु पुछ्दै भनें।
“ल भोलि दिउँसो ३ बजे कफी क्लबमा भेटौं न त।”
“हुन्छ।” मैले भनें।
“ल ल उल्लु मान्छे, नरोउ धेरै। सुत अब।” उसले फोन राखी।
बाहिर पानी रोकिएको थियो। झ्याल लगाएँ अनि खाटमा पल्टिए। मोबाइलमा मेसेज अझै पनि लेखिएकै स्थितिमा थियो। “हरेक चोटी तिमीलाई सबैभन्दा शुरुमा मेसेज गर्ने म नै हुन्थ्यें। आज तिमीलाई मेसेज नगरी बस्न सकिन। म तिमीलाई एकदमै माया गर्छु। ह्याप्पी बर्थडे सानु।” डिलिट गरें। अनि मोबाइल नम्बर ब्लक गरें।
“आस्था, तिमीजस्तो बुझ्ने साथि सबैको भाग्यमा होस्। भोलि कफी क्लबमा ३ बजे भेटौंला।” मैले मेसेज पठाएँ।
रातको प्रहरले रुप फेर्यो। झिसमिसे बिहानी हुन थाल्यो। अब मलाई निन्द्रा लाग्यो।
Image Credit : Photo by Munmun Singh from Pexels
यदि तपाईंलाइ यो कथा मन पर्यो भने, हरेक हप्ता प्रकाशित हुने मेरा नयाँ नयाँ कथा पढ्न, आफ्नो Name र Email Address हालेर मलाई Subscribe गरिदिनुस् है?