मन मोहिनी
जोलाई लेख्नै आउँदैन उसले कसरि लेख्छ? लेख्छ, कोर्छ, मेट्छ, शब्दका गुछ्छा बटुल्छ, घोरिन्छ, सोचको सागरमा डुबुल्की मार्छ, अनि, फेरी शुरु गर्छ! हजार पानाले भरिएका कैंयौ पुस्तक लेखेको म, कहिले कलम नसमातेको अनपढ झैँ हुन्छु जब तिम्रो लागि दुई शब्द कोर्न बस्छु। मन मोहिनी, डरले निसास्सिन्छु, मेरा शब्दले तिमीलाई बर्णन गर्न नसकेर कतै तिमीलाई कुरुप त बनाउने होइनन? शुरुवातको शुरु कसरि गरौँ वा पुछारको अन्त्य कसरि, सोचेर यहि, एस्ट्रेमा चुरोटका ठुटाहरु भरिन्छन। तिमीलाई अर्पण गरेका शब्दका यी गुछ्छाले तिम्रो गालामा लाली चढाउन सकेनन भने, मन मोहिनी, मेरो यो आशक्ति के काम?
म विशेषणको प्रयोग गर्छु मन मोहिनी, तिमीलाई ब्याख्या गर्न। ” तिमी राम्री छौ। ” म रोक्किन्छु। होइन तिमि राम्री छैनौ। राम्री धेरै छन्। तिमि धेरै जस्ती छैनौ। “तिमि फरक छौ। ” होइन तिमी फरक पनि छैनौ। के फरक छन् र? आखिर सबैसंग नै त हुन्छन, दुइ आँखा, दुइ कान, एक नाक अनि एक मुख! तर मन मोहिनी, एकमुखे रुद्राक्ष झैं, तिमी पनि दुर्लभ छौ। शायद शब्द रचना गर्नेले तिमीलाई देखेर “सुन्दरी” लेखेको थियो होला। अलौकिक सुन्दरतालाई परिभाषित गर्ने “तिमि एक्मुखे रुद्राक्ष हौ। ” तर होइन तिमी त्यो पनि होइनौ। किनकि मैले आजसम्म एक्मुखे रुद्राक्ष देखेको छैन। तर तिमी, तिमी त मेरो बिल्कुल अगाडी छौ। एक्मुखे रुद्राक्ष पाउने भाग्यमानी हुने भए मन मोहिनी, तिमीलाई पाउनु हजारौँ एक्मुखे रुद्राक्ष पाउनु बराबर हो।
सानो हुँदा संसार घुम्ने सपना बुन्ने म, तिमीलाई देखेपछी, तिमी मुस्काउँदाको तिम्रो ओँठको, एक कुना बाट अर्को कुना, बर्षौं लगाएर घुम्न मन छ। क्यामेरा देख्ने बित्तिकै अगाडी उभिने म, तिम्रो नयनमा यी नयन जुधेदेखी, तिम्रै नजरको सागरमा कहिले नतैरिनेगरि डुब्न मन छ। हरेक साँझ, रक्सीको नशामा जीवन बुझ्न कोशिश गर्ने म, तिम्रो आवाज सुनेदेखि, त्यहि आवाजमा, होशमा नआउने गरि झुम्न मन छ। समय कटाउन छटपटाउने म, तिम्रो समिपमा आएदेखि, रोकियोस् यी पल भन्दै समयलाई नै चुम्न मन छ। मन मोहिनी, के यी चाहना सपनाका महल त होइनन?
कैयौं पटक मैले तिम्रो वरिपरि, तिमीलाई छोइ हिड्ने हावासंग झगडा गरेको छु। बिहानिको उजेली संगै तिमीलाई पहिलो पटक निहार्ने, तिम्रो कोठाको ऐनाको इर्ष्या गरेको छु। मन मोहिनी, बरु मलाई तिम्रो ऐना बन्ने स्विकृती देउ, म जीवन भर, तिम्रो अगाडी उभिएर बस्नेछु। या मलाई त्यो हावा बन्ने स्विकृती देउ, म छोइ-डुम खेलेझैं, तिम्रो स्पर्शमा रमाई बस्नेछु। तिम्रो वरिपरि घुम्नेछु अनि तिम्रा हरेक इच्छा पुरा गर्न नसकेपनि, तिम्रा पिर र चिन्ता चिर्न नसकेपनि, झिल्मिलाउँदो आकाशमा हेर्दै, ३३ कोटी देउता भाक्दै, तिम्रा हरेक इच्छा पुर्याईदिन, दैबसंग बिन्ति माग्नेछु। मेरो पुकार सुनेर जब दैबले तिम्रो सबै चाहना पुर्याईदिनेछन, अनि तिमी न्यानो रातमा मुस्कुराउदै सुत्नेछ्यौ, मन मोहिनी, तब म तिम्रो झ्यालको पर्दा लगाउदै, कौशीमा निस्केर, त्यो चन्द्रमालाई भन्नेछु, “कहाँ दिन्छु एति सजिलै मेरा सबदाले सजिएकी, सबै भन्दा सुन्दरीलाई हेर्न?”
तस्बिर : https://www.instagram.com/sweekrity_pyakuryal
यदि तपाईंलाइ यो कथा मन पर्यो भने, हरेक हप्ता प्रकाशित हुने मेरा नयाँ नयाँ कथा पढ्न, आफ्नो Name र Email Address हालेर मलाई Subscribe गरिदिनुस् है?