मायाको ब्याज
“तिम्रो छोरा त ठुलो भैसकेछ। नाम के हो? बिहेमा नि बोलायेनौ “
उसले थाहा नपाएको झैं गरि सोधी। मेरा फेस्बुकका भित्ता भरि म अनि मेरो छोराको तस्बिर थिए। हरेक फोटोमा उसको नाम थियो। अनि कहिले मेरो प्रोफाइल नचहारे झैं गरि उसले यो प्रश्न तेर्स्याई।
“सुबाष। ” बस् यत्ति जवाफ दिएँ।
“ए राम्रो नाम रहेछ।” उसले भनी। एति भनि नसक्दै उ अफलाइन गैसकेकी थिई।
“छोराको नाम आप्रत राख्न पर्छ ल?” उसले भन्थी। “हुन्न कस्तो नाम यो यो? आप्रत!” नाक खुम्च्याउँदै मैले भनेको थिएँ।
“ह्या तिम्रो र मेरो नाम बाट बनाको हो के। आशिष अनि प्रितिषा बाट आप्रत। ” मलाई नाममा खासै ध्यान थिएन। तर उसले मसंग देखेको भविष्यले मेरो बर्तमानलाई रंगिन बनाएको थियो। “अनि छोरी भै भने?” मैले प्रश्न तेर्स्याएँ। “आप्रिता। छोरा भयो भने आप्रत अनि छोरी भै भने आप्रिता।” हामी बसन्तपुरका गल्ली हरुमा हल्लिदै यो गफ गरिरहेका थियौँ। +२ सकेपछि हामीसंग प्रसस्त समय थियो। त्यो भन्दा अगाडी हामी भिन्न भिन्न संकाय हुनाले भेट्न पनि सनिबार नै कुर्न पर्थ्यो। उसलाई भेट्न पाए शनिबार बल्ल छुट्टी झैं लाग्थ्यो।
“आज मैले बारा बनाउन सिकेँ नि।” यो भन्दै उसले स्टोरी पोस्ट गरि। हातले समातेको प्लेटमा सजाइएका बाराको छेउमा एउटी नानी त्यहि बारालाई हेरिरहेकी थिई। “निस्प्रितालाई बारा एकदम मन पर्छ। त्यसैले मैले पनि पकाउन सिकें। खाने भए आऊ।” उसले मलाई मेसेज पठाई। शायद उसको श्रीमानको नाम नितेश थियो या निशेष या निराजन या निरन्जन। मैले उसको छोरीको नामको पछाडी ध्यान लगाउन चाहिन।
“कत्ति बारा खा’को? मनै पर्दैन मलाई।” हरेक चोटी हामी भक्तपुरको हेमा दिदीको पसलमा हुँदा उसले मलाई भन्थी। “मलाई त एकदम मन पर्छ, बिहेपछि तिमीले पकाउने त हो मेरो लागि।” मैले भन्थेँ। “पकाको पकाई हो। मलाई मन नपर्ने कुरा त म मरिगए पकाउन्न।” उ रिसाउँथी।
“होइन भैहाल्यो। बोलाकोमा धन्यबाद।” मैले भनेँ।
“आशिष मलाई लाग्थ्यो कि तिमी मुभ अन हुन सक्दैनौ। तर आज तिमीलाई तिम्रो छोरासंग देख्दा, जति नराम्रो पहिले लाग्थ्यो, त्यो ऐले लाग्दैन। आइ आम ह्याप्पी फर यु।” उसले मलाई मेसेज पठाई।
एक्कासी मलाई मेरा हातका दागहरु याद आयो। “आशिष म अमेरिका जाने भएँ।” जानु भन्दा दुइ दिन अगाडी उसले मलाई भनेकी थिई। “तिमीले नराम्रो मान्लाउ भनेर बल्ल आज भन्दै छु।” म रुन थालेँ। मनका भावनाहरुले जब शब्द नपाउने रहेछन, तब आखाको बाटो हुँदै बग्ने रहेछन। म रुन थालेको देखेर उसले मलाई अंगालो हाल्दै भनी, “म आउँछु तिम्रो लागि फर्केर।” उसको बोलीको सहारा लिएर म बाँच्न थालेँ।
“म जान्छु है। आज हाम्रो एयानिभरसरी। घरमा सानो पार्टी छ।” एति भनेर उ फेरी अफलाइन गई।
“आशिश आइ एम गेटिंग म्यारिड। आइ एम सरी। बुबा ममीले यहीं बिहे गर भन्नु भयो। मैले नाइँ भन्न सकिन।” एति भनेर उसले मलाई ब्लक गरेकी थिई। मंगलबारको त्यो दिन मैले काम मै रक्सी पिउन सुरु गरिसकेको थिएँ। मैले मेरो साथीलाई फोन गरेँ। “सन्दिप, उसले मलाई धोका दिई।” सन्दिप र म ठमेलको एक्सेस लंजमा बसेर निकै बेर रक्सी खायौ। मेरो दुखको बाँध फुटाउन आखिर सन्दिप नै त थियो एउटा सहारा।रातको करिब साढे एघार बजेको थियो। मेरो हालत देखेर सन्दीपले आज मलाई उसकै घर लिएर जाने भयो, उसकै गाडीमा। म गाडीमा पनि रोइरहेको थिएँ। रक्सीको नशाले मातेको म, एक्कासी मेरो टाउको बाट रगत बग्न थाल्यो। मेरा हात हरु सिटमुनि च्यापिएका थिए। सडक को छेउमा गाडी उत्तानो परेको थियो। मलाई धेरै त याद छैन तर छेउमा एउटा मोटरसाइकलनिर दुई जना रगताम्मे देखेँ। शायद बुढा बुढी थिए।
भोलिपल्ट मलाई होश आउँदा म हस्पिटलमा थिएँ। प्रहरीले मलाई सोधपुछ गरेपछि बल्ल थाहा पाएँ सन्दीपको हिजो सांझ नै मृत्यु भएछ। हामी दुवै जना नशामा थियौँ। चाबहिलको ओरालोमा सन्तुलन गुमाउँदा उता बाट आउंदै गरेको मोटरसाइकललाइ हानेका रहेछौँ। घटनास्थलमै सवार बुढा बुढी मरेका रहेछन। म काँप्न थालेँ। आखिर यो सब कसैले मलाई छोडेर गएको कारणले? म आफ्नै आँखामा गिरेँ। मलाई ठुलो पाप गरेको झैँ लाग्यो र शायद त्यो ठुलो पाप नै थियो।
“भाग्य राम्रो भन्नु कि नराम्रो, बाउ आमा मरिहाले, आफु चै बचेछ।” हस्पिटलमा मेरो रुम बाहिर कोहि कराउँदै थियो। “खै अब सुबाशको पो के हुने हो?”
“ड्याडी ड्याडी आज शनिबार। घुम्न जाम न। हजुरले मलाई भक्तपुरमा हेमा दिदिको पसल लान्छु भन्नु भाको हैन?” त्यो कोमल आँखाले यो पापी आँखालाई हेरेर सोध्दै थियो। “अनि तिमि रेडी भयौ त सुबाश?” उ खुसी भयो। मैले अन्त खुसी खोज्न छोडें।
Image Model : www.instagram.com/sweekrity_pyakuryal
यदि तपाईंलाइ यो कथा मन पर्यो भने, हरेक हप्ता प्रकाशित हुने मेरा नयाँ नयाँ कथा पढ्न, आफ्नो Name र Email Address हालेर मलाई Subscribe गरिदिनुस् है?