मनको मसान
पसिनाले मलाई लुछुप्प भिजाइसकेको थियो। गाडीको एसीले काम गरेको झैँ लागेन, त्यसैले ऐना खोलेँ। चिसो सिरेटोले उसैको नाम लिए झैँ महसुस भैरहेको थियो। उसको नाम सुन्दा खै किन हो मनमा चिसो पस्यो अनि निधारबाट पसिनाको थोपा गालामा झर्यो। बाहिर त्यति गर्मि त थिएन तर त्यो बतासमा उसको नामले मेरो शरीरको तापक्रम बढाउँदै थियो। “जेनिषा”, मेरो मनले उसको नाम लियो। अनि बाहिर चलेको सिरेटोले पनि…
“म तिमीलाई पर्खेर बसेको छु। कति बेर लाग्छ र तिमीलाई?” किन किन उसको पुकारलाई नकार्न सकिन र रातको पौने तीन बजे म गाडीमा उसको ठेगाना तर्फ हानिँये।
चार दिन अगाडी चिसो हावा चलेको दिन, हामी दुवै जना पार्कमा बसिरहेका थियौँ। धेरै दिनको च्याटपछि ऊ मलाई भेट्न राजी भएकी थिई। “मेरो बोइफ्रेन्ड छ।” उसले मलाई भनेकी थिई। “तिमी उसलाई साँच्ची मन पराउँछौ?” को जवाफमा उसले भनि, “खोइ? अब हेरम पछि के हुन्छ। माया त छ, तर मायाको माया, मायालाई छ जस्तो चाहिँ लाग्दैन।”
“तेसो भए हामी भेट्दा फरक त नपर्ने रहेछ नि, होइन र?” मैले हार मार्न चाहिन।
“तर म उसलाई धोका दिन चाहन्न। तपाई आफै सोच्नुस न, यदि उसको ठाउँमा तपाईं भैदिएको भए अनि मैले तपाइलाई जस्तै अरु कसैलाई भेटेको भए, तपाईलाई राम्रो लाग्थ्यो?” उसको यो प्रश्नले उसको प्रेमीप्रति मलाई जलन भयो।
“तपाईंहरु बोइफ़्रेन गल्फ़्रेन हो?” ६-७ बर्षको एउटा फुच्चेले आएर हामीलाई सोध्यो। मैले उसलाई हेरें। उसले केहि बोलिन। मैले “हो” भनिदिएँ। त्यो फुच्चे खितिति हाँस्दै भाग्यो। मैले फेरी उसलाई हेरें। उसले केहि भनिन। उसलाई छोडेर हिंड्न फिटिक्कै मन थिएन तर उसँग बसिरहन पनि मन लागेन। आखिर उसको मायाको अगाडी मैले मेरो मन मार्नु जो थियो। उसलाई उसको घरसम्म छोडिदिएँ अनि निस्किएँ।
उसंग छुटेर म घर फर्केको दश घण्टा भैसकेको थियो। निँदाउन मैले कोशिष नगरेको हैन। उसलाई मेसेज अब गर्दिन भनेर आफैसंग बाचा नगरेको पनि हैन। तर रात को २ बजेको प्रहरले यसरी प्रहार गर्यो कि उसलाई मेसेज नगरी बस्न सकिन।
“मैले तिमीलाई नभेटी बस्न सकिन। दिउँसोको भेट मेरो लागि नमेटिएको प्यास बन्यो।” एति लेखेर उसलाई मेसेज गरें।
“तिमीसंग भेट्न मलाई पनि राम्रो लाग्छ। कहिले भेट्ने?” उसले सोधी।
“अहिले?” पठाएपछि सोचें, रात को दुइ बजेको छ। पक्कै नाइँ भन्छे, अनि खत्तम पनि।
“हुन्छ नि। आउ न त।” आँखा झिमिक्क गरेर खोल्दा, म उसको घर बाहिर पुगिसकेको थिएँ। बाहिर निकै हावा चलेको थियो। सिड्नी सहर, अनि रातको कठ्यान्ग्रिदो चिसो, मैले उसलाई भनें, “गाडी भित्रै बसौँ होला।”
“मेरो कोठामा जाने?” उसले मलाई प्रश्न गरि। मसँग त्यो प्रश्नको एउटा मात्रै उत्तर थियो, “हुन्छ।”
“तर ढोका बाट जान मिल्दैन। अरुहरु सुतेका छैनन्। झ्यालबाट चढ्न सक्छौ?” घर पछाडिको उसको कोठाको झ्याल खोल्दै उसले सोधी।
“खै ऐलेसम्म त छैन। तर एत्तिले गर्दा बाहिर चिसो मै बस्न पर्छ भने झ्याल त के म अपेरा हाउस पनि चढ्छु।”
ऊ हाँसी। ऊ हास्दा उसको आँखामा छुट्टै चमक आउंथ्यो। एस्तो लाग्थ्यो कि मैले उसको आँखामा हेरिरहेको छुइन। उसको आँखा बाट पनि पर कतै हेरिरहेको छु। नकोरेको उसको कपाल, निन्द्राले लत्पत्त्यायेका गाजलमा पनि उसको आँखा उसैगरि चम्किरहेका थिए, मानौँ, कालो रातमा बिरालोका झैँ।
“सरि है। मेरो कोठा अलि फोहोर छ।” कोठाभित्र पसेपछि चारैतिर डुलेका मेरा नजरलाइ देखेर उसले भनि।
“अँ अलिक बेसी नै फोहोर रहेछ।” नमिलेको तन्ना, झरेको सिरानी, कोठामा पल्टेका मैनबत्ती, असरल्ल फिंजिएका किताब, भित्तामा लागेका माकुराका जाला देख्दा लाग्थ्यो, त्यहाँ शायद कोहि बस्दैनथ्यो।
छेउमा राखेको टेडीलाइ आफ्नो काखमा राख्दै, उसले भनि, “थाहा छ एसको नाम मैले के राखेको छु?” मैले “छैन” भन्न नपाउंदै उसले भनि, “संजय, मेरो बोइफ़्रेनले मलाई यो टेडी भ्यालेन्टाइन डे मा देको। अनि उसकै नाम राखिदिएँ। “
म केहि बोलिन। मलाई उसको बोइफ़्रेनको बारेमा जान्न मन थिएन। एकमनले सोचें, केहि बर्ष अगाडी हाम्रो भेट भएको भए, त्यो टेडी शायद मैले दिने थिएँ अनि तेस्को नाम आज आशिष हुने थियो।
म उसको नजिक सर्दै थिएँ। कोठामा आँखा डुलाउँदा, भित्ता मा झुन्डिरहेको क्रिस्टियनको क्रस वाला मालामा मेरो आँखा गयो। “त्यो के हो?” उसलाई सोधेँ।
“यो घरमा भूतले तर्साउन्थ्यो रे अनि चर्चबाट फादर आएर मन्त्र जपेर हरेक कोठामा त्यो माला झुन्ड्याको रे। अनि त्यति मात्र हो र? कति ओटा गाडी पल्टेको छ रे यो घर बाहिर अनि कोइ बाँचेका छैनन् रे।” उसले यो भन्दा ऊ मेरो आँखामा हेरिरहेकी थिई। किन किन उसको आँखाले मलाई आफुतिर बोलाएको झैँ महसुस भयो। म उसको नजिक पुगेँ अनि उसको गालामा चुम्बन गरें। उसले मलाई धकेली अनि रुन थाली। “तिमी पनि आखिर संजयजस्तै निस्कियौ। मैले तिमीलाई मेरो नजिक आउ भनेको थिएँ? मलाई छोउ भनेको थिएँ? किन मलाई किस गरेको?” उ झन् रुन थाली।
“आइ एम सरि। मैले आफुलाई रोक्न सकिन।” गल्ती गरेको आभाष गर्दै मैले भनें। “म बेक्कारमा आएँ, म नआउनु पर्थ्यो। म जान्छु।” उसले केहि भनिन, बरु रुँदै उठेर ढोका खोलिदियी। झ्यालबाट उसको कोठामा छिरेको म, ढोकाबाट निस्किएँ। आँखाबाट मनमा छिर्न खोजेको म, उसको जिन्दगीबाट निस्किएँ।
मेरो निन्द्रा खुल्यो। रातको पौने तिन बजेको थियो। मेरो फोनमा घन्टी बज्यो। “जेनिशा”
“म तिमीलाई पर्खेर बसेको छु। कति बेर लाग्छ र तिमीलाई?” किन किन उसको पुकारलाई नकार्न सकिन र रातको पौने तीन बजे म गाडीमा उसको ठेगाना तर्फ हानिँये।
पसिनाले मलाई लुछुप्प भिजाइसकेको थियो। गाडीको एसीले काम गरेको झैँ लागेन, त्यसैले ऐना खोलेँ। चिसो सिरेटोले उसैको नाम लिए झैँ महसुस भैरहेको थियो। उसको नाम सुन्दा खै किन हो मनमा चिसो पस्यो अनि निधारबाट पसिनाको थोपा गालामा झर्यो। बाहिर त्यति गर्मि त थिएन तर त्यो बतासमा उसको नामले मेरो शरीरको तापक्रम बढाउँदै थियो। “जेनिषा”, मेरो मनले उसको नाम लियो। अनि बाहिर चलेको सिरेटोले पनि…
आँखा झिमिक्क गरेर खोल्दा, म उसको घर बाहिर पुग्न लागिसकेको थिएँ। तर मलाई एक्कासी रिंगटा लागेको जस्तो भयो। म चलिरहेको गाडी भित्र लुडिबुड़ी हुन थालें। मेरो टाउको अगाडिको सिसामा ठोक्किन थाल्यो। तब मैले थाहा पाएँ गाडी पल्टिंदै रहेछ। अगाडिको सिसा फुट्यो अनि म बाहिर उछिट्टियें। उसको घर बाहिर पुगेर गाडी पल्टिंदै रोकियो अनि म गाडीको केहि पर। मेरो एउटा आँखा खोल्न सकिरहेको थियिन न त उठ्न नै। अर्को आँखाले मेरो टाउको को अगाडी रगतको पोखरी बन्दै गरेको देखिरहेको थियो। अलिकति पर धमिलोगरि एउटा ढुंगा देखेँ। त्यहाँ क्रिस्टियन क्रस पनि गाडिएको थियो। अनि धमिलो धमिलो गरि ढुंगामा लेखिएको पढेँ,
“….in Loving Memory of Jenisha Sharma (1995 – 2018)”
Image Model : www.instagram.com/sweekrity_pyakuryal
यदि तपाईंलाइ यो कथा मन पर्यो भने, हरेक हप्ता प्रकाशित हुने मेरा नयाँ नयाँ कथा पढ्न, आफ्नो Name र Email Address हालेर मलाई Subscribe गरिदिनुस् है?