कफी?

कफी?

Spread the love

खै कुन चरा हो त म चिन्दिन तर ती दुइ चरा आफ्नो गुंडमा बसिरहेका थिए। पानीका थोपा अनि बेला बेला मा चल्ने हावाका बावजुद अडिग रहेको त्यो गुंड देख्दा ति चरा पक्कै गज्ज़बका सिकर्मी लाग्थ्यो। पानी पर्न थालेपछि माटोबाट सुरुमा जुन पृथ्वीको सुगन्ध आउँछ, त्यसले मलाई सधैं लठठ्याउंथ्यो। लगभग दुइ घण्टा भैसकेको थियो पानी पर्न थालेको अनि रोक्किने छाँटकाँट कतै देखिंदैन थियो। ऊ मेरो खाटमा बसेकी थिई अनि म संगै रहेको सोफामा। हामी दुइ घण्टा देखि मेरो कोठाको झ्यालबाट देखिने त्यो रुख अनि त्यो रुखधनि चरालाई हेरी बसेका थियौं। बेला बेलामा गफ गर्थ्यौं। म प्रश्न गर्थ्यें। ऊ उत्तर दिन्थी। मुसुक्क हाँस्थी। पानी बाहिर परिरहेको थियो तर उसको मुस्कानले म कोठा भित्रै निथ्रुक्कै भिजिरहेको थिएँ।

“गित सुन्ने?” उसले मलाई प्रश्न गरि। तिन दिनको फेसबुक च्याट पछि आज ऊ मेरो निम्तोमा मेरो घरमा आएकी थिई। च्याटमा मज्जाले बोलेकी ऊ, आज खासै केहि बोलेकी थियिन। उसले ब्यक्त गरेको पहिलो इच्छालाइ नकार्न चाहिन। मैले “हुन्छ। तिमी गित बजाउ म कफी लिएर आउंछु।” भनें।

“हैन तिमी कफी लिएर आऊ अनि सुनम्ला।” उसले भनि।

हातमा दुइ कप कफी लिएर कोठामा छिर्दा गित अगाडिको संगित सुरु भइसकेको थियो। उसले मेरो खाटमा मेरो लागि पनि बस्ने ठाउँ बनाएकी थिई। उसको इशारामा म उसको छेउमा बसें अनि एउटा कप कफी उसलाई दिएँ।

“परेलीमा लुकाइराख न
अंगालोमा बाँधी राख !”

गित बज्न शुरु भयो। उसको कफीको पहिलो चुस्कीमा, सेतो कपमा उसको ओंठको रातो लिपस्टिकको नक्सा बस्यो। मैले उसका ओंठमा आँखा डूलाएं। हिमालका चुचुरा झैं ति ओंठमा म पर्वतारोहण गर्न आतुर पर्वतारोही झैं एकटकले हेरिरहेको थिएँ। “बाँधेर राख तिम्रै मुटुमा ….” उसका ओंठले गुनगुनाई रहेका थिए।

बाहिर परिरहेको पानी, चिसो चिसो मौसम, तातो तातो कफी, मिठो मिठो गित, रातो रातो ओंठ। एक घण्टा जसो तसो आफुलाई रोकेर राखेँ अनि जब रोक्न सक्दिन झैं लाग्यो, उसलाई सोधें, “फेरी एक कप कफी?”

ऊ पनि मसंगै भान्सामा आइ। डेक्चीमा दुध खन्याएर चुलो माथि राखेँ। अघिको कप माझ्न के लागेको थिएँ, उसले भनि “किन माझ्न पर्यो, तिमी मेरो कपमा खाउ, म तिम्रो कपमा खान्छु।” ऊ मुसुक्क हाँसी। ऊ हाँस्दा गालाको दुवै पट्टि डिम्पल पर्थ्यो। ऊ हाँस्थी, अनि त्यो डिम्पल्को खाल्टोमा म डुब्थे।

दुध तात्दै थियो। “हेर न मेरो हात कति चिसो।” उसले आफ्नो हात मेरो गालामा टाँसी, अनि हटाइ। “तिम्रो पनि चिसो छ?” उसले मेरो हात आफ्नो गालामा लगी। मैले हटाउन खोजें। उसले हटाउन दीइन।मैले मेरो अर्को हात पनि उसको गालामा लगें। उसले मलाई तानेर मेरो कोठामा लगी। केहि बेरमा भान्सामा दुध उम्लियो।

टिङ्ग टंग

मेरो घरको ढोकाको घन्टी बज्यो। ढोका खोल्दा ऊ उभिरहेकी थिई। बाहिर पानि परिरहेको थियो। रुखमा दुइ चरा आफ्नै गुँडमा बसिरहेका थिए। उ घर भित्र छिरी। उसको एअरफोनमा गित बजिरहेको थियो, “परेलीमा लुकाइराख न…”। कानमा लगाएको एअरफोन झिक्दै ऊ मुसुक्क हाँसी। उसको गालाको डिम्पलमा डुब्दै मैले सोधेँ, “कफी?”

Image Model : www.instagram.com/suneetasunita

यदि तपाईंलाइ यो कथा मन पर्यो भने, हरेक हप्ता प्रकाशित हुने मेरा नयाँ नयाँ कथा पढ्न, आफ्नो Name र Email Address हालेर मलाई Subscribe गरिदिनुस् है?

Follow Me