ह्याप्पी बर्थडे – फोन नउठाउने मायालु !
“आर यु अलराइट?”
मलाई झक्झक्याउँदै, कसैले ममाथि प्रश्न तेर्सायो।
गाडीको लागि बलेको हरियो बत्तीमा बाटो काट्न थाल्दा, आइरहेको कार बाट मलाई बचाउने त्यो मान्छेले मलाई सोधिरहेको थियो। उभ्भिन सक्ने अवस्थामा थियिन। सडकको पेटी मै थचक्क बसें।
“थ्याङ्क्यु” लर्बरिएको जिब्रोले जसो तसो भनें।
मेरो अवस्था उसले बुझेछ क्यारे, झोलाबाट एक बोतल पानी झिकेर मेरो छेउमा राखेर ऊ आफ्नो बाटो लाग्यो। शायद “टेक केयर” पनि भनेको थियो। मेरो टाउको भारि भएर आयो, नमाज्जाले घुमायो, पेट फर्कियो अनि मुख बाट अघि जे खाएको थिएँ, सबै निस्कियो। सडक छेउ मै बान्ता गरे। मुख पुछ्नलाइ रुमाल, मसंग थिएन। अघि ज्यान बचाइदिने कोहिले छोडेर गएको पानीले मुख धोएँ। बल्ल अलिकति होशमा आएँ। मेरो टाउको एकदम दुखिरहेको थियो। मोबाइल भाइब्रेट गरिरहेको थाहा पाएँ। ज्याकेटको खल्तीबाट मोबाइल झिकें। स्क्रिनमा “मम कलिंग” आइरहेको थियो। मैले फोन काटिदिएं।
३ बजिसकेछ। नोटिफिकेसनमा उसको कल वा मेसेज केहि आएको छ कि भनेर फेरी खोजें। तर उसले मेरो कल वा मेसेज केहि फर्काएकी थियिन। आज उसको जन्मदिन। फेरी एकचोटी कल गर्छु भनेर सोचें। पुरै घन्टी बजेपछि फोन भोइसमेलमा गयो। “हेलो , नाम र नम्बर छोडदिनुस, म आफै कल गर्छु।”
“ह्या एकछिन नजिस्कि बस न, भोइस मेसेज रेकर्ड गर्दै छु के !” उसले यो भनि नसक्दै मैले उसलाई सिरानीले टाउकोमा हानिसकेको थिएँ। “फेरी रेकर्डिंग बिग्र्यो।” पाखुरा सुर्कदैं अर्को सिरानी बोकेर मलाई लखेट्दै भान्सा सम्म आइपुगेकी थिई उ। कति बेला आवाज चित्त नबुझेर अनि कति बेला मैले बिगारिदियेर, उसलाई त्यो भोइसमेल रेकर्ड गर्न ७ पटक लागेको थियो। ” हेलो , नाम र नम्बर छोडदिनुस, म आफै कल गर्छु।” मेरो आठौँ चोटिको कल पछि उसको फोनले फेरी त्यहि भन्यो।
रक्सीले छोड्न थालेछ शायद, अलि अलि जाडो हुन थाल्यो। गोजीबाट फेरी मोबाइल झिकें। वालपेपरमा हामि तीनजना थियौं। उ, म अनि मेरी आमा। सिमसिम पानी पर्न थाल्यो। पहिलो चोटी आमालाई स्वेता संग भेटाउँदा पनि यसरि नै पानि परिरहेको थियो। “राम्रो साइतमा घरमा छिराइस। ” आमाले भन्नु भएको थियो। २ वर्षको प्रेम पश्चात हाम्रो मागी बिबाह भएको थियो। अनि बिबाह लगत्तै हामी अस्ट्रेलिया आएका थियौँ। अस्ट्रेलिया आउने दिनमा एयरपोर्टमा हामी तीनजनाले यो फोटो खिचेको थियौँ।
शायद धेरै बेर हेरेछु त्यो तस्बिर, मोबाइलको स्क्रिनलाइ पानिका थोपाले ढाकेका थिए। ज्याकेटमा मोबाइल पुछे अनि फेरी अनलक गरे। तर उसको फोन अझै आएको थिएन। कतै फेसबुकमा पो केहि छ कि भनेर मेसेन्जर खोले। तर उसले मेरो मेसेज हेरेकी थियिन।
“स्वेता, स्टार क्लबमा झगडा परेर मलाई पुलिसले समात्यो। तिमी छिट्टो आउ यहाँ। ” गएको बर्ष उसको जन्मदिनमा एति भनेर मैले फोन राखेको थिएँ। म अनि हाम्रा साथीहरु मिलेर हामीले सर्प्राइज पार्टी आयोजना गरेका थियौँ। हाम्रो जिन्दगि हामीले सोचेको झैं भैरहेको थियो। हामि दुवै जागिरे थियौँ। कम्पनीले नै हामीलाई अस्ट्रेलिया स्पन्सर गरेको थियो। गोदावरी पार्क मा बसेर आखिर हामीले यहि सपना त बुनेका थियौँ। विदेश जाने, आफ्नै खुट्टामा उभिने, एउटा घर किन्ने, आमाबुवालाई बोलाउने, अनि एक अर्का संगै जिन्दगि बिताउने। “त्यहि त भन्ने बेला तिमी बिना साँस पनि फेर्न सक्दिन भन्छौ अनि २४ घन्टै फोन मा झुन्डियेर बस्छौ।” ऊ मलाई यहि भनेर सताउँथी। तर उसलाई पनि थाहा थियो, मेरो काम नै फोनमा हुन्थ्यो।
मेरो फोन बज्यो। हत्त न पत्त उठाएँ अनि भनेँ। “स्वेता!”
कोहि बोलेन। फोनको अर्को कुनामा कोहि सुँक्क सुँक्क गरेको भान भयो। स्क्रिनमा नाम पढेँ। आमाको फोन रहेछ।
“आज स्वेताको जन्मदिन।” आमाले भनिन्। “तेरो याद आएर फोन गरेको। “
“स्वेताले के भन्थी आमा?” मेरी आमाले मलाई शायद हजार चोटी भनिसकेकी थियिन। तर म जहिले फेरी पनि सोधथिएँ। आमा केहि बोलिनन्।
“भन्नु न आमा!”
“हेर्नु न आमा, आशिषलाई पुलिसले समात्यो रे। म हस्पिटलमा छु।”
“त्यो स्वाँठले रक्सी खाएर तमाशा गर्यो होला। तिमीलाई चाहिँ के भयो ? सब ठिक छ नि ?” आमाले पनि स्वेता लाइ एकदम माया गर्नु हुन्थ्यो।
“आशिषलाइ नभन्नुस है ऐले? हजुर हजुरआमा बन्दै हुनुहुन्छ।” मेरी आमा को हजुरआमा बन्ने रहर पनि पुरा हुदैँ थियो। “तर हेर्नुस न, डराउँदै फोन गर्नु भएको थियो। मलाई एकदम डर लागेको छ।”
“केहि हुदैन तेस्लाई फोन गर अनि राम्ररी सोध न।” सधैँ राम्रो मात्र सोचिदिने शायद संसारमा आमाको मन मात्र हो।
“हस आमा म राख्छु है ऐले।”
ऊ मलाई एकदम माया गर्थी। पागल भएर माया गर्थी। मलाई यो राम्ररी थाहा थियो। तर पनि म उसलाई सोधिरहन्थियें, “मलाई कहिलेसम्म माया गर्छौ?” त्यो दिन उसले जे भनि म कहिले बिर्सिन सक्दिन। “म चक हुँ अनि तिमी मेरो कालोपाटी। त्यतिन्जेल माया गर्छु, जबसम्म चकको अस्तित्व सकिँदैन। म पूर्ण रुपमा तिमीमा नमिसियिन्जेल अनि नसकियिन्जेल, तिमीलाई माया गरिरहनेछु।”
त्यो दिन मेरो फोन बजेको मलाई अझैं याद छ। २३ चोटी मेरो फोन बज्यो। अनि २३ चोटी मैले फोन काटें। “ऐले फोन उठाएर सर्प्राइज रुइन नगर।” मेरा साथीहरुको कुरा मलाई ठिक लागेको थियो। २३ चोटी पछि, मेरो फोन बज्न छोड्यो।
हिंडदा हिंडदै म स्टार क्लब बाहिर पुगेछु। मैले उसको फेसबुक खोलेर हेरें। वालमा धेरै सुभेक्षा प्रकट भएका थिए। “ह्याप्पी बर्थडे। तिमी हामी माझ छैनौ तर याद सधैँ ताजा छ। #Don’t Text while Driving” एकजनाले लेखेका थिए।
उसलाई फेरी फोन गर्नु भन्दा अगाडी मेरो मोबाइल मेसेजमा उसको एक बर्ष अगाडिको मेसेज पढें। “डोन्ट वरी। म आउंदै छु।”
पुरै घन्टी बजेपछि उसले फेरी भनि, ” हेलो, नाम र नम्बर छोडदिनुस, म आफै कल गर्छु।”
रुँदै अनि चिच्याउँदै भनेँ , “ह्याप्पी बर्थडे! फोन नउठाउने मायालु।”
Model : www.instagram.com/jashrestha
यदि तपाईंलाइ यो कथा मन पर्यो भने, हरेक हप्ता प्रकाशित हुने मेरा नयाँ नयाँ कथा पढ्न, आफ्नो Name र Email Address हालेर मलाई Subscribe गरिदिनुस् है?