आँखा झिमिक्क, माया गायब!
फ्राइडे नाइट अनि मेलबर्न, मजस्ता घरका न घाटका, कि त रक्सीको नशामा कुनै बारको कुनामा लडिरहेका हुन्छन कि त लड्न जाने सुरसार गर्दै हुन्छन। अस्ट्रेलिया आएपछि बनेको रोबोट जिन्दगी, हरेक शुक्रबार साँझ ५ बजेपछि चैं, खुला साँढे बनेको अनुभूति गराउँछ। घडीले ५ बजायो अनि म रोबोटको खोल उतारेर २५ बर्षे लक्का जवानको रुप धारण गर्दै मलाई पुकारिरहेको बारतर्फ लाम्कियें। गर्मीमा साढे नौ बजेसम्म पनि उज्यालै हुने यो शहर, जाडोमा भने ५ बजे नै अँध्यारोको अंगालोमा बाँधिईसक्छ। दिनभरको थकान, डुबेको घाम, अनि बोलाइरहेको रक्सीको चुस्की – यमराज, मलाई लाने योजना बनिसकेको छ भनेपनि, यो रात कटाउन देऊ, यो रात मताउन देऊ भन्दै म त्यो बारभित्र छिरेँ।
खै किन हो कुन्नि, मलाई यो बार एकदमै मनपर्छ। फरक त खासै केहि छैन यो रक्सीमा अनि अरु बारको रक्सीमा, तर पनि यहाँको रक्सीमा छुट्टै नशा छ। शायद स्मृतिपटलमा यहाँका याद अझैँ ताजा भएर हुन् कि ? वा शायद चढ़दै गरेको रक्सीले बर्षौं पुराना याद फेरी जिउने बहाना दिएर हो कि? अनायासै, मुख भित्र हालेको रक्सी, आँखाको बाटो हुँदै फेरी ओठमा आएर ठोक्कियो। “हैट ! यो त सेन्टी भैसकेछ। ” मसंगै आएका दुइजना मध्येको राकेशले भन्यो। “छोड दे हौ छोड दे, तेस्ती त हजारौँ आउँछन। ” मेरो हातमा पाँचौ, होइन सातौँ होला, कि पाँचौ नै हो, रक्सीको गिंलास थमाउदै उसले भन्यो। रबिनले मतिर चुरोट को बट्टा बढायो अनि राकेशलाई हेर्दै भन्यो, “ओइ यो राम्रोसंग राख त। म नाच्न जान्छु। आँखा झिमिक्क माल गायब चैं नपार नि फेरी। ” रबिनले मतर्फ बढाएको चुरोट दुइ पफ तान्दै, मेरो मुखबाट लर्बराउदै निस्कियो , “चुरोट रक्सी छुटाउन सकिने, ड्रग्सको लागि पनि रिह्याब हुने, तर मायाको लागि किन कुनै व्यवस्था छैन ? आखिर सब भन्दा ठुलो नशा त यो माया नै हो। ” राकेशले शायद भाव बुझेन। “ल हौ ल, तँ पनि हाम्रो लागि कबिर सिंघ नै होस्। ” राकेशले मलाई भन्यो। मलाई उसको व्यंग्यले केहि फरक परेन। सातौँ, हो की पाँचौ, जुन सुकै होस्, गिलांसको रक्सी स्वाट्टै पारेँ।
होशमा आउँदा म हल्लिरहेको थिएँ। एकछिन भेउ पाउन मुस्किल भयो। बच्चा बेलामा रुँदा खेरी हात खुट्टा चलाएर नाचेको बाहेक जिन्दगीमा ननाचेको म, डान्स फ्लोरमा मज्जाले नाचिरहेको रहेछु। एउटा हातमा बियरको बोतल अनि अर्को हातमा कम्मर। अरे, एकछिन, यो के भइरहेको छ ? म कहाँ छु ? अनि जसको कम्मरमा मेरो हात छ, ऊ को हो? मलाई मेरो हात हटाउन पनि मन लागेन। ऊ पनि मज्जाले मसँग नाची नै रहेकी थिई। म अक्क न बक्क परें। एक त यो रक्सीले मेरो टाउको पनि त फनफनी घुमाइरहेको थियो। मलाई यो सपना झैँ लाग्यो। सपनामा त जे गर्न नि पाइन्छ। मैले उसलाई मेरो झन् नजिक तानेँ अनि उसको ओँठमा मेरो ओंठ जुधाएँ। उसका आँखा एक्कासी ठुला भए अनि उसले मलाई धकेली। मेरो हातको बियरको बोतल भुइँमा झर्यो। मेरा साथि हरुले यो देखेछन। कुद्दै म भएको तिर आउंदै थिए, एक्कासी उसले मलाई फेरी उतर्फ नै तानी। अनि अघि छुटियेका ओंठ फेरी जोडिए। ऊ मभन्दा अलिक होची नै थिई। तर पनि मेरो ओठ सम्म आइपुग्न उसले लगाएका स्यान्डलका हिलले उसलाई मदत गरिरहेका थिए। जोडिएका यी ओंठ हरु नछुट्टीएका धेरै मिनेट भैसकेका थिए। शायद दश, हैन पन्ध्र, हैन शायद दश नै हुन् की। जति सुकै मिनेट हुन्, जोडीइरहुन।
मतर्फ आउंदै गरेका मेरा साथीले मेरो कुरा बुझेछन क्यारे, फेरी छेउमा बसेर रक्सी खान थाले। हाम्रा ओँठ अझैँ चप्किरहेका थिए। अनि म झसङ्ग भएँ। मलाई त उसको नाम पनि थाहा छैन। म अलिकति पछाडी सरें। उसले आँखा बल्ल खोली। मैले सोधें, “तिम्रो नाम के हो?” डिजेले बजाइरहेको चर्को गीतले गर्दा हो वा किन, शायद उसले सुनिन। “हजुर?” ऊ चिच्याइ। रक्सीले जलाएको मेरो घांटीलाई बल लगाउँदै म पनि चिच्याएँ , “तिम्रो नाम के हो?”
“माया। ” उसले भनी।
“अनि एक्लै आएको?” चिच्याउदा मेरो घांटी दुख्न थालिसकेको थियो।
“हैन, साथीसंग आएको। तर साथि झ्याप भएर लडिरहेको छ अनि मलाई अल्छी लागेर एता आएको। ” उसले नाच्दै भनी। उसको बोली सुन्दा ऊ होश मै रहेको आभाष भैरहेको थियो। त्यहि पनि सोधें, “अघिको लागि सरी।” ऊ फेरी नजिक आइ अनि मेरो गालामा चुम्बन गर्दै भनी, “इट्स ओके। यु आर स्विट। ” ऊ फेरी नाच्न थाली।
केटाहरुले मलाई इशारा गरे। बार बन्द हुने बेला भैसकेछ। लास्ट राउण्ड लिन काउन्टरमा जाम भनेको बुझेर मैले मायालाई सोधें “तिमी के लिन्छौ ?”
“मोहिटो” उसले भनी।
म बारतिर लम्किएँ। “ओइ के हो केटि त सहि छे त। ” रबिनले ड्रिंक अर्डर गर्दै भन्यो। “कति बेला भेटिस? अनि एस्तो बबाल नाच्न काँ सिकिस बे ?”
अस्ट्रेलिया आएको ६ बर्ष पछि पनि रबिनको ” बे” भन्ने बानी जस्ताको तेस्तै थियो। “मलाई याद छैन। ” मैले भनेँ।
“ट्वाइलेट बाट फर्किदा त सोल्टी, मस्त नाचिराछ। ” प्रकाशले रबिनलाई भन्यो। “के खान्छे रे?”
“मोहिटो” मैले भनें।
“अनि मोहिनीलाई मोहिटो पछि मोज होला नि त होइन?” रबिन अचम्मको प्राणी, अरुको कथा सुनेर नै भएभरको खुसी प्राप्त गर्थ्यो। म केहि बोलिन।
प्रकाशले पैसा तिर्यो। अनि हामी टेबलमा जान पछाडी के फर्केका थियौं, हाम्रो सात्तो उड्यो। ऊ ठ्याक्क पछाडी उभिरहेकी थिई। हाम्रो कुरा पक्कै सुनी भनेर हाम्रो रंग उडिसकेको थियो। ट्रेमा रहेको मोहिटो लिदैँ उसले “थ्याङ्क्यु गाइज। ” भनी। हामीले राहतको साँस फेर्यौं। धन्न सुनिनछे।
“यहि हुन् तिम्रा साथीहरु?” एकजना केटा हामीतिर आएर उसलाई सोध्यो।
“अँ साच्ची, गाइज अघि मैले भनेको थिएँ नि, हि इज माइ हज्ब्यांड।” उसले भनी।
हामी सुनेको सुन्यै भयौँ। हैन, म सुनेको सुन्यै भएँ। अरुलाई त थाहा पनि थिएन कि ऊ त यहाँ साथि संग आएकी थिई, जो झ्याप भएर कतै लडेको थियो। हज्ब्यांड ? वाआट?
“पछि भेटौंला है? नाइस मिटिंग यु गाइज” बुढाको हात समात्दै ऊ बार बाट निस्किई।
रबिनले चुरोट सल्काउँदै भन्यो, “आज त आँखा झिमिक्क, माया गायब भयो बे। “
Image Model : www.instagram.com/suneetasunita
यदि तपाईंलाइ यो कथा मन पर्यो भने, हरेक हप्ता प्रकाशित हुने मेरा नयाँ नयाँ कथा पढ्न, आफ्नो Name र Email Address हालेर मलाई Subscribe गरिदिनुस् है?
Tooooooo good 💕
Thank You Rashmi!
“चुरोट रक्सी छुटाउन सकिने, ड्रग्सको लागि पनि रिह्याब हुने, तर मायाको लागि किन कुनै व्यवस्था छैन ? आखिर सब भन्दा ठुलो नशा त यो माया नै हो”- This is damn good.
Thanks Sagar! 🙂