Time-Travelling ज्याकेट!

Time-Travelling ज्याकेट!

Spread the love

“तँ त हिमालको देशबाट आएको हैन र, सगरमाथाको देश। तँलाई नि जाडो हुन्छ र ?”

मेरो कामको म्यानेजर मलाई सधैँ यहि सोध्छ। शायद उसलाई लाग्छ, नेपालमा हिमाल मात्र छन्, अनि हिऊँको कारण एकदम जाडो, अनि त्यहाँ बाट आउनेले जाडो त स्विटर बिना कटाउन सक्छन। तर त्यहि हिमालको देशको काठमाण्डौ उपत्यकाबाट ६ वर्ष पहिले मेलबर्न छिरेको म, मलाई मेल्बर्नको चिसोले अत्ति पिरोल्छ। जति धेरै गर्मि, उति धेरै जाडो। एकैदिनमा चार थरि मौसम झेल्न पाइने मेलबर्न साँच्चै गज्जबको शहर छ।

बिहान ९ बजे काममा पुग्नलाइ म घरबाट ८ बजे त निस्किनै पर्थ्यो। जुत्ता लगाएर ढोका खोलेको मात्र के थिएँ, चिसो बताशले अलिअलि बाँकी बचेको निन्द्रा बिल्कुलै भगाइदियो। हिजो भर्खर $६० हालेर किनेको नया स्विटरले खासै न्यानो गरि दिन कटाउला झैं लागेन। हतार भैसकेको थियो तर त्यत्तिकै निस्किन पनि सकिन। कोठामा फर्केर मैले काममा जहिले लगाएर जाने ज्याकेट खोजें तर भेटिन। याद आयो, हिजो अलिक धेरै गर्मि भयो भनेर काममै छोडेको थिएँ, फर्किदा ल्याउन भुलेछु। दराजको कुनाबाट त्यो ज्याकेटले मलाई हेरिरहेको थियो। मलाई त्यो ज्याकेट लगाउन मन थिएन तर मसँग कुनै विकल्प थिएन, अनि ढिलो पनि त भैसकेको थियो। ज्याकेट तानेँ, भिरें अनि ट्रेन छुट्छ कि भनेर स्टेसनतिर कुद्न थालेँ।

१ मिनेट अझैँ बाँकी रहेछ। कुद्दा कुदद्दै फुलेको सांस रोक्न प्लेटफर्मको कुर्सीमा बसें। त्यो प्लेटफर्म, त्यो कुर्सी अनि त्यो ज्याकेट, एक न एक दिन फर्केर सबै कहीं न कहिँ, कुनै न कुनै मोडमा, भेट अवश्य हुन्छन। म घरबाट निस्केदेखि मैले रोकिरहेको मेरो हातलाई, मैले मेरो खल्तीमा हाल्नबाट, मैले आफुलाई अझैं रोक्न सकिन। मेरा औँलाहरु कुनै चक्रब्युहमा छिरेझैं महशूस भयो। मेरा औंलाहरू उसका एयरफोनमा अल्झिएका थिए। गोजीबाट त्यो एयरफोन निकालेँ। त्यो एयरफोनका दाँया र बाँया कुना, अनि त्यो तार यसरि एक आपसमा अल्झिएका थिए, मलाई इर्श्या लाग्यो, मेरो भन्दा राम्रो प्रेम कहानी इनिहरुको देखेर। केहि नसोची छुट्ट्याईदिएँ। अनि फेरी सोचें, कुनै दिन थियो, यहि प्लेटफर्मको यहि कुर्सीमा म, यहि ज्याकेट लगाएर, उसलाई अंगालोमा त्यो एयरफोन भन्दा लोभ लाग्ने गरि बेरिरहेको हुन्थ्यें।

ट्रेन आइपुगीसकेछ। हतार हतार भित्र छिरें। एउटा सिट खालि देखेँ। बिहानको बखतमा मेल्बर्नको ट्रेनमा खालि सिट भेट्नु, कुनै चिट्ठा परे बराबर झैं हो। छेउमा उब्बिरहेको खैरेले शायद मैले भन्दा पहिले सिट देख्न नपाएको दुखले होला, मुन्टो उता फर्कायो। ठुलै लडाइ जितेर आएको राजा झैं, म पनि गमक्क परेर बसेँ। ट्रेन अगाडी बढ्यो अनि संगसंगै मेरो हात, अर्को गोजी तर्फ। मेरो पुरानो पर्स भेटें। धेरै हिम्मत जुटाउनु पर्यो, त्यो पर्स खोल्न। आखिर भित्र के थियो, त्यो मलाई राम्रै संग याद थियो। गर्हुङ्गो मन बनाउदै पर्स खोलें। ऊ आजपनि उसै गरि हाँसी रहेकी थिई। तरकारी किन्न जाने क्रममा तरकारी बजारमा उसलाई मैले पहिलो चोटी देखेको थिएँ। “काजल” उसको नाम राखेको थिएँ। आँखामा मसिनो गाजल लगाएकी ऊ, हरेक चोटी उसले आफ्नो आँखा झिमिक्क पार्दा, खै किन हो किन, ति परेलाले मलाई नै चुम्बन गरिरहेको झैं लागिरहेको थियो। उ काउली छान्दै थिई अनि त्यहि बखत थियो मैले ठानेको, उसैलाई मेरो जिन्दगी को काउलीवाली बनाउँछु भनेर।

“मलाई यो जिन्दगि बाट भरोसा उठ्यो। मर्न चाहन्छु। तिमी नै भन गोलि ठोकेर मार्छौ कि गाजल लगाएको तिम्रो आँखा झिम्क्यायेर मलाई मार्छ्यौ?” पहिलो चोटी उसलाई देख्दा, मैले उसलाई यहि भनेर, कुरा शुरु गरेको थिएँ। अन्जान मान्छे आएर एसरि गफ गर्दा शुरुमा हिचकिचायेकी ऊ, शायद मेरो कुरा रमाइलो लागेछ कि कुन्नि, गलल हासेकी थिई। “यी यो साग पनि लिएर जाउ” उसले भनेकी थिई। “तिम्रो त्यो आँखाले सधैँ भरि, मैले तिम्लाई झिम्क्याउने आँखा देखिरहन, साग त खान पर्यो नि हैन?” ऊ पनि मै जस्ती थिई। अनि त्यहिँ बाट शुरु भएको थियो हाम्रो, पुर्णबिराम वाला यात्रा।

“एक्सक्युज मी, क्यान आइ सिट दएर?” ट्रेनमा एउटी केटीले मलाई सोधी। म केहि नबोली उठिदियें। सिटबाट निस्किन के लागेको थिएँ, ट्रेनले एक्कासी ब्रेक हान्यो। मेरो हातको पर्स भुइँमा झर्यो अनि भित्र बाट गुड्किये केहि सिक्काहरु।

जाडो महिनामा रातको १० बजे शहरको गल्लीमा हामी टहल्लिदा, उसले “मलाई आइसक्रिम खान मन लाग्यो भनेकी थिई।” $५ दिएर लिएको आइसक्रिममा छुट्टा आएका सिक्का थिए यी। आइसक्रिम एउटा थियो अनि हामि दुइ। उसलाई आइसक्रिम मन पर्थ्यो अनि मलाई उसको ओंठ। “कति मिठो छ, तिमीले मिस गर्यौ। ” उसले भन्थी। “त्यो भन्दा मिठो मैले खाएँ अनि तेस्लाई मिस भनिदैन, किस भनिन्छ।” मैले एसो भन्दा ऊ लजाउदै, “छि! लाज पचेको” भन्थी। हामी तेसपछी, अँगालोमै पुरै बाटो हिंड्दै घर पुग्थ्यौं। शायद त्यो ओंठको याद अझैं यो मन बाट हटेको छैन, शायद त्यसैले मेल्बर्नको चिसो अझै चिसो लाग्छ।

ट्रेन बाट बाहिर हेरें। ओर्लिने ठाउँ आइसकेछ। बाहिर निस्किएँ। हातमा त्यहि सिक्का हरु थिए। आखिर ऊ पनि यहि सिक्का झैँ निस्किई – दुइमुखे। मलाई अब यो Time Travelling ज्याकेट देख्दै सँधै पुराना याद जिउनु थिएन। छेउमा एउटा डस्टबिन देखेँ। ज्याकेट खोलेँ अनि डस्टबिन मा मिल्काइदिएँ। अचम्म, मलाई अब जाडो भएन।

Model : www.instagram.com/aasina_baral
Image Credit : www.instagram.com/electric_achar

यदि तपाईंलाइ यो कथा मन पर्यो भने, हरेक हप्ता प्रकाशित हुने मेरा नयाँ नयाँ कथा पढ्न, आफ्नो Name र Email Address हालेर मलाई Subscribe गरिदिनुस् है?

Follow Me