जे भयो, त्यो हुनेछैन!

जे भयो, त्यो हुनेछैन!

Spread the love

“तँलाई त्यो याद छ?”

“मोटाइछस् त!”

“त्यो त नेता बन्यो रे!”

“आज पनि एक हात पन्जा लडाई हान्ने कि?”

म छिर्दै गर्दा मेरा कानमा ठोक्किन पुगेका यी सब गफहरुले होटेल अन्नपुर्णको त्यो पार्टी रुमलाई माछा बजार नै बनाएको प्रतित भइरहेको थियो। किन किन मलाई एक्कासी सम्झना मिस को याद आयो।

“चुप्प लागेर बस्न सक्दैनौ? यो कक्षाकोठा हो कि माछा बजार?”

यो याद भन्ने चिज पनि गज्जबको हुन्छ। कहाँ, कतिबेला, कसको अनि कहिलेकाँही त किन आउँछ पनि पत्तो नपाइने।

म त्यो भिडमा अल्झिन चाहिन। म सिधै कुनामा रहेको बार तर्फ लागेँ।

“ब्ल्याक लेबल, लार्ज प्लिज !”

हामि दुवै जनाको बोली एकै चोटी ठोक्कियो। शायद त्यो बोली, बोली नभएर बादल भएको भए, त्यो जुधाइले ठुलो चट्यांग निम्त्याउथ्यो !

“१५ बर्ष!, आशिष!” उसले भनी !

हामी दुवै जनाले एक अर्कालाई हेर्यौँ। खासमा त्यो हेराइमा हामी आज जे भएका थियौँ, त्यसमा प्रकट गरिएको आश्चर्य थियो। अनि त्यो आश्चर्य भन्दा अधिक धेरै खुशी।

“तिमीले मेरो फोन किन नउठाएकी?”
“एक्कासी छोडेर जान अलिकति पनि माया लागेन?”
“कहाँ बस्छौ अचेल? कति चोटी पुगेँ म तिमी पहिले बस्ने ठाउँमा, तर तिमी त्यहाँ थिएनौ। “
“भोली भेट्न आउछु भनेकी तिमि, तिम्रो भोली कहिले आएन? “

यस्तै येस्तै अनेकन प्रश्न सोध्न मन थियो। तर जिब्रोमा आउनु अघि नै ति सब प्रश्नको हत्या गरिदिएँ।

“तिमीलाई म अझै पनि याद छु?” सानो आवाजमा बोलि फुटाएँ।

“तिमी मलाई याद हुन्नौ त, उल्लु मान्छे! ” मैले मेरो मनलाई घूस खाइरहेको रंगेहात पक्राउ गरेँ। मनमा चोट भएपनि उसको “उल्लु मान्छे” सुनेर मुस्कुराउनु आखिर भ्रष्टाचार नै त हो।

त्यो साँझ, हामीले त्यो कोठाको विभिन्न कुना चाहार्यऊँ। बर्षौँ पछि आयोजित रि-युनियन, भिन्न भिन्न साथीहरु, अनि भिन्न भिन्न समूह। हामी बेग्ला बेग्लै समुहमा सबैलाई भेटिरहे पनि, एक अर्का सँग हामि बोलिरहेका थियौँ, आँखै आँखा मा। आखिर यो पुरानो कथा, आज फेरी एति सजिलै बाचन गर्न, धेरै बर्ष एकान्तमा बिताउनु परेको छ, उसको नाम कहीं कतै सुन्दा मासुको गन्धले जर्याकजुरुक उठ्ने कुकुर झैँ, कान ठाडो पार्नु परेको छ। चिसो रातमा, पाएका प्रेमपत्र जलाउँदै, त्यहि तापले आफुलाई सेक्न परेको छ। यादका जलनलाइ चिर्न, बर्षौंदेखि बिहान उठे बखत बाटै, ब्ल्याक लेबलका बोतल हरुले यो घांटी जलाउनु परेको छ। कहाँ सजिलो छ, आँशुको सागरमा डुबुल्की लगाउन हालेको कुनै जमानाको कथालाइ, आज फेरी बाँझो जमिनमा उभिएर पढ्न।

Follow Me