
// निर्ममला //
प्यारो डायरी, तिमीलाई त थाहा छदै छ, मेरो नाम निर्मला हो। म २७ बर्षकी भएँ। दिदीको बिहे हुँदा बिहेको सपना देखेकी मैले, सबै सपना देख्न लायक हुँदैनन् भनेर बुझ्न बिहे पछिको एक बर्ष कुर्न पर्यो। अचेल मलाई तिमीमा लेख्न पनि डर लाग्छ। मेरा कलमले झारेका मसी तिम्रा पानालाई ग्रहण गर्न मन छ कि छैन भनेर म सोचमग्न हुन्छु। यदि मलाई पनि उहाँले, उहाँ मेरो र म उहाँकै भएपनि, हरेक रात जबर्जस्ती मेरा शरीर मा झारेका विर्य मन पर्दैनन् भने, प्यारो डायरी तिमी त झन् नाइँ भन्न पनि सक्दैनौ।
प्यारो डायरी, यो के भइरहेको छ ? मेरो उमेर किन घट्दै छ। म आज २१ बर्षकी भएँ। काठमान्डूमा पेट पाल्न गारो छ। दाइलाई कतार पठाउँदाको ऋण तिर्न पनि मैले मरिमेटेर काम गर्नै पर्छ। फलामको बाकसमा उडेको दाइ, काठको बाकसमा फर्केदेखी आमा थला परेकी छिन। उनको औसधी उपचार गर्न पनि मैले काम गर्नै पर्छ। दुई वर्ष देखि म यो सहकारी संस्थामा काम गरिरहेको छु अनि आज शनिबारको दिन सरले मिटिंग छ भनेर बोलाउनु भयो। ओवरटाइमको पैसा पाउने सपना बुन्दै म पनि बिहान ९ बजे नै अफिस पुगेँ। सर ११ बजे आउनुभयो अनि आफ्नो क्याबिनमा बोलाउनु भयो। म त्यो क्याबिनमा जसरि छिरेँ, त्यसरी निस्किन सकिन। म त्यहाँ बाट निस्किन। अहिले यो डायरीमा जोले लेख्दै छ, त्यो कोहि अरु हो।
डायरी, मैले भनेको थिएँ नि तिमीलाई, मलाई बिबेक असाध्यै मन पर्छ। १९ बर्षे यौवनको भावना मात्र त थिएन त्यो, शायद माया भनेकै यहि होला। तर हैन, माया यो हुन सक्दैन। “बिहेपछि मात्र” भन्दा उ रिसाएको फिटिक्कै थिएन। अझ उसले आज मलाई गोदावरीको पार्कमा लिएर गयो। ऊ त मेरो बिबेक थियो। तर म उसको निर्मला थियिन। उसले आफ्नो साथीहरुसित पनि मलाई भेटायो, सुरेश, सबिन अनि बिशाल। आजको दिन, बिहेपछिको दिन जस्तो मलाई लागेको थिएन तर सुरेश, सबिन, बिशाल अनि बिबेक, उनीहरुलाई लाग्यो। डायरी, मेरो बिहेपछि भयो, सबैसंग !
अब केहि दिन म लेख्दिन ल, मेरो प्यारो डायरी ? मेरो परिक्षा आउंदै छ। अब त म ठुली भइसके, १३ बर्ष। धेरै पढेर ठुलो मान्छे बन्न पर्छ रे। सबले त्यहि भन्छन। तर मलाई पढ्न एकदम अल्छी लाग्छ। घरमा पढिन भनेर नै त आमाले मलाई ट्युसन हालिदिनु भएको। मलाई आजबाट पढ्न मन लागेको छ। सरले मलाई कत्ति माया गरेर पढाउनु हुन्छ। अझ थाहा छ डायरी, आज सब जना घर फर्केपछि पनि सरले, “निर्मला, तिमी एकछिन बस। ” भनेर मलाई माया गरेर राख्नु भयो। म पढ्दै थिएँ, अनि “तिम्लाई गर्मि भयो होला, त्यो माथि को दुइटा बटन खोल, अलिक शितल हुन्छ। ” भन्नुभयो। एकछिनमा सरले मलाई काउकुति लगाउनु भयो। छातीमा पनि काउकुति लाग्छ भन्ने मलाई थाहा नै थिएन, डायरी !
डायरी, म कहाँ खोज्न जाम भन त। मैले दिउसो भरि खोजे। मेरो खेलौनाहरुमा, स्कुल ब्यागमा, घरको सबै कोठा मा। मैले छतमा पनि खोजे। अनि बारीमा पनि गएर खोजे। तिमीले कतै देखेको छौ भने मलाई भनिदेउ न डायरी, म खोज्दा खोज्दा हैरान भैसके। आमा पनि घर मा हुनुहुन्न थियो। नत्र म आमालाई सोध्थ्ये, तर हैन फेरी काकाले आमा लाइ नभन्नु, कोसैलाई नभन्नु, भन्नु भएको छ। डायरी तिमी नै भन न, मेरो काकाले मेरो तिघ्राको बिचमा दिउँसोभरी खोजेर नभेटेको चिज, म कहाँ खोज्न जाउँ?
डायरी – “निर्मला, तिमी नजन्मिनु पर्ने। जन्मेकै भए पनि नेपालमा नजन्मिनु पर्ने। यहाँ निर्मला बलात्कृत हुन्छन। यहाँ निर्मला यौन- शोषित हुन्छन। यहाँ तिमीलाई मार्नेले खुशी खुशी अनि शानले हिड्न पाउछन। यहाँ तिमीलाई न्याय दिलाउन तिम्रै आमा बुवा चाहदैनन्। यहाँ हरेक गल्लीमा निर्मला छन्। धेरै निर्मला सबै सहेरै बाच्छन। कोहि निर्मला बेचिन्छन अनि कोहि निर्मला रेटिन्छन। त्यसैले निर्मला तिमी अझ बाचेर, तिमीलाई अझ चोट नलागोस् भनेर मैले तिम्रो उमेर घटाउँदै लगेको हुँ। निर्मला, म त भन्छु, तिमी नजन्मिनु पर्ने। जन्मेकै भए पनि नेपालमा नजन्मिनु पर्ने।”
Image Source : Saakar Shaahi
यदि तपाईंलाइ यो कथा मन पर्यो भने, हरेक हप्ता प्रकाशित हुने मेरा नयाँ नयाँ कथा पढ्न, आफ्नो Name र Email Address हालेर मलाई Subscribe गरिदिनुस् है?
Sentimental vaye yar.. been a year now and nepalese government is a shit proved.
Thanks Rapson! 🙂