दाग
हिजोको दिन र आजको दिनमा हजार ओटा फरक होला। र शायद आजको दिनमा र भोलिको दिनमा पनि अनगिन्ती। तर बिगतका हिजो हुन् या आउने भोलि, म विश्वस्त छु। हरेक दिन बिहान ७ बजेर २२ मिनेटमा, म काम गर्ने क्याफेको ढोका खुल्छ अनि एक्कासी हावामा बेग्लै सुगन्ध मिसिन्छ। तिम्रो सुगन्ध। दायाँ पट्टिको एउटा मात्र कुर्सी भएको टेबलमा शायद तिम्रै अधिकार छ। या भनौँ अब त्यहाँ बस्ने जो कोहि तिमि झैँ लाग्छ। काउन्टरकी बहिनीलाइ अब तिमीले अर्डर दिइरहन पर्दैन। हरेक दिन झैँ आज पनि तिमिलाई सब भन्दा मन पर्ने म्याकियाटो तिम्रो टेबलमा आइपुग्छ। तिमि सधैँ झैँ त्यो म्याकियाटो एति ध्यान दिएर पिउछौ कि मलाई त्यो म्याकियाटो देखि जलन हुन्छ। भाग्यमानी छ त्यो म्याकियाटो, तिम्रो हरेक चुस्कीमा, तिम्रो ओँठ को बाटो हुँदै तिम्रो जिब्रोको भ्रमण गर्ने स्विकृती पाउँछ।
तिमी आफ्नो एक सर्को कपाललाइ कानको पछाडी अड्काउछौ, पाखुरा सुर्कन्छौ, सोचमा डुब्दै ओठ टोक्छौ, अनि अन्तिम प्यालासंगै पढिरहेको पानामा चिन्ह लगाइ किताब बन्द गर्छौ अनि जुन रफ्तारमा छिर्छौ त्यहि रफ्तारमा बाहिरिन्छौ। एउटा पण्डित ले हरेक बिहान गर्ने जाप झैँ तिमिलाई म हरेक बिहान हेर्छु, कहिले लुकेर हेर्छु, कहिले एकटकले घोरिएर, कसैले नदेख्ने गरि, देख्नेले नबुझ्ने गरि। शायद तिमि पनि मेरो हरेक बिहानी को म्याकियाटो हौ।
यो कथा शायद कथा हुने थिएन, यी शब्दहरुले शायद घर पाउने थिएनन् यदि त्यो काउन्टरको बहिनीले तिमी बस्ने त्यो टेबलको छेउमा पानी नपोखेको भए, भर्खरै सफा गरेपनि त्यो पानीको चिप्लोमा तिमी नचिप्लिएको भए, अनि चिप्लिएर मसँग नठोक्कीएको भए। “म्याकियाटो भनेको के हो थाहा छ?” तिम्रो यो प्रश्नपुर्व नै म तिमीमा हराइसकेको थिएँ। शायद म “आइ एम सरी, रियल्ली!” कुरेर बसेको थिएँ वा शायद तिमीलाई यति नजिकबाट देखेको खुशीमा आफै दङ्ग थिएँ। “हेलो! म तिमीसंग बोल्दै छु। क्यान यू फोकस?” अहँ म फोकस गर्न सकिरहेको छैन। म त्यो फोकस बिग्रेको क्यामेरा झैँ उभिरहेको छु, तिम्रो अगाडी। “हजुर? मैले बुझिन।” मेरो बोली फुट्यो। “इटालियन मा म्याकियाटो भनेको स्टेन्ड कफी हो। यसले आज आफ्नो नाम राख्यो।” मेरो सर्ट तिर हेर्दै उसले भनी। मेरो सेतो सर्टमा उसको म्याकियाटोको दाग, पुर्णिमाको चन्द्रमाको दाग भन्दा गाडा देखिएको थियो। “सरि!” भर्खर बनेको रोबोट झैँ म उभिरहे। नजिककि ऊ, बिस्तारै बिस्तारै टाढा भइ, अनि केहि पलमा, आँखाबाट ओझेल। मैले मेरो सर्ट धोएँ। त्यसको दाग मेटियो। तर उसको मुस्कानले मेरो मनमा छोडेको दाग, अहँ !
“तिम्रो नाम के हो?” भोलिपल्ट ७ बजेर २३ मिनेटमा उसको अगाडी पुगेर प्रश्न सोध्ने हिम्मत जुटाए। “तिमीलाई, मलाई के नाम दिन मन छ?” उसको यो प्रश्नले म फेरी रोबोट बनेँ। उसले मलाई अर्को कुर्सी तानेर बस्न संकेत गरि। पहिलो पल्ट त्यो टेबलको कुर्सिले साथी पायो अनि शायद, शायद मैले पनि। “हजुर?” यो बाहेक केहि भन्न सकिन मैले। “यदि मेरो नाम नै नभएको भए तिमि मलाई के भनेर बोलाउथ्यौ?” मैले फेरी उसलाई एकटक ले हेरेँ। तर यसपाली मसँग उसको प्रश्नको उत्तर थियो। “शाबेरी! म तिमीलाई शाबेरी भन्छु। ” उसले मलाई उसको म्याकियाटोको चुस्की संगै छड्के आखाले हेरी। शायद उसले नामको अर्थ बुझिन। “जापानी भाषामा दागलाई ओशाबेरी भन्छन। म तिमीलाई शाबेरी भनेर बोलाउछु। ” ऊ अलिकति लजाए झैँ गर्दै मुसुक्क हाँसी। “हिजोको कफीको दागले तिमीलाइ अझैँ छोडेको छैन ?” मैले मनै मन मा भनेँ , “छुटीसक्यो, तर तिम्रो मुस्कानको दाग यो मनबाट कहिले छुट्ने छैन। ” उसले थपि ” शायद तिमीले दिएको नामको पनि अर्थ राख्न सकूँ!” यति भनेर ऊ मेरो सामु ढल्की अनि मेरो गालामा उसको ओँठ को नक्शा बनाई। उसको रातो लिपस्टिकको दाग मेरो गालामा बस्यो। ऊ साच्चै नै शाबेरि हो।
३ दिन पछि… भ्यालेन्टाइनस् डे… उसको घर… मान्छेको भिड… हल्ला… शब्दहरु…. “राती नै”…. “सात घण्टा अगाडी”… “ओभरडोज”…. थाहै नपाई मेरो मुख बाट पनि निस्कियो “होइन! झुट!” मैले कसरि देखिन, म हरेक दिन नियालेर हेर्थ्ये, उसलाई, हरेक दिन ऊ मेरै अगाडी हुन्थी। मैले कसरि बुझिन, उसले हरेक बिहान पिउने म्याकियाटोले उसले हरेक रात पिएका आँशु लुकाएको। उनीहरुले उसलाई बोकेर लिएर आए। कालो कफिनमा गोरी ऊ। आज उसले कफिनमा पनि दाग लगाई। उसलाई बोकेका ति काँधहरुमा दाग लगाई ।मेरो मस्तिष्कमा दाग लगाई । शाबेरि, यो सब दाग उसले लगाई।
मलाई अब शनिबार शनिबार झैँ लाग्न छोडेको छ। हफ्ता भरि को दाग म शनिबारमै देख्छु। हरेक शनिबार ऊ सुताइएकि ठाउँमा पुग्छु। निलो आकाशमा देखिने सेता बादल पनि ऊ झैं लाग्छन। आखिर ती पनि त दाग नै हुन्। अनि ति दाग ले मलाई नै हेरेझैं लाग्छ जब उसको कफिनको माथि जमेको धुलो सफा गर्छु। कालो त्यो कफिन मा हरेक हफ्ता मैले राख्ने रातो गुलाफको फुल पनि मेरो जीवन मा उसको आगमन झैँ छ, सुन्दर तर ओइलाइ जाने।या शायद मलाई त्यो रातो गुलाफले, उसले मेरो गलामा छोडेको दागको याद दिलाउँछ। त्यो गुलाफ ओइलाइ जान्छ , यो गाला को दाग पानीले मेटियो, तर, न यो हृदयको चोट ओइलाउछ न त यो मुटुको दाग मेटिन्छ । म हेर्छु उसको कफिन वरी परि उम्रेका पालुवा हरु अनि सोच्छु यी पालुवा का जरा कतै उसैमा त जोडिएका छैनन् , शायद त्यसै गरि जसरि उसका यादले मेरो दिमागमा जरा गाडेका छन्। थाहै नपाई आँखाका छेउमा जमेका आँशु पुस्छु अनि आफुलाई निकाल्छु त्यो दाग लागेको ठाउँ बाट, जान त्यहि क्याफे, जहाँ दिन दिनै अचेल मैले पिउन शुरु गरेको छु त्यहि म्याकियाटो, त्यहि टेबलमा बसेर, जसको भाग्यमा अर्को कुर्सी पाउन शायद लेखेको छैन।
यदि तपाईंलाइ यो कथा मन पर्यो भने, हरेक हप्ता प्रकाशित हुने मेरा नयाँ नयाँ कथा पढ्न, आफ्नो Name र Email Address हालेर मलाई Subscribe गरिदिनुस् है?